नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बस्दैछ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठक अहिले जारी रहेको छ। बैठक भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक अवस्था र कांग्रेसको भूमिकामा केन्द्रित रहेको बताइएको छ।

आजको बैठक भने पार्टीको १५औँ महाधिवेशन सम्बन्धी तयारी र त्यसका विकल्पका विषयमा केन्द्रित रहनेछ। सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ। यससँगै पार्टीभित्र नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा छलफल तीव्र बनेको छ।

नियमित महाधिवेशन समयमै गर्न नसकिने अवस्था देखिएको भन्दै केही नेताहरूले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलाएका छन्। सो क्रममा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको जनाइएको छ।

यसअघि असोज २८ गते सुरु भएको बैठकमा सभापति देउवाले स्वास्थ्य अवस्थाका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसयता खड्काको नेतृत्वमा बैठकहरू बस्दै आएका छन्।

तिहार र छठ पर्वका कारण केही दिन स्थगित भएको बैठक अन्तिम पटक कात्तिक १ गते बसेको थियो। सो बैठकले पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजका लागि बैठक पुनः बोलाएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्