रुपन्देही । यात्रुवाहक ईभी गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाका अनुसार मृत्यु हुनेमा सैनामैना–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएकाहरूको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्। घाइतेहरूको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमै थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी राति करिब १०ः३० बजे रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो।
प्रहरीले गाडी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।






