ट्राई-नेशन्स महिला फुटबलमा नेपालद्वारा भारत पराजित, साम्बाको दुई गोल

काठमाडौं । ट्राई–नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको छ। शिलाङस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपाली कप्तान सावित्रा भण्डारी (साम्बा) ले दुबै गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाइन्। खेलको दोस्रो मिनेटमै विमला विकको लामो पासमा सावित्राले भारतीय डिफेन्डरलाई पछि पार्दै उत्कृष्ट गोल गरेकी थिइन्। त्यसपछि उनले ६२औं मिनेटमा फ्रिकिकमार्फत अर्को शानदार गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। घरेलु टोली भारतका लागि ८१औं मिनेटमा कृष्मा श्रीरभोइकारले एक गोल फर्काइन्, तर त्यसले जितको समीकरण बदल्न सकेन।

यसअघि इरानले नेपाल र भारत दुबैलाई हराउँदै उपाधि सुनिश्चित गरिसकेको थियो, त्यसैले यो खेल प्रतिष्ठाको लडाइँको रूपमा खेलिएको हो। नेपालले भारतलाई उसैको मैदानमा पराजित गर्दै पछिल्ला वर्षहरूमा महिला फुटबलमा निरन्तर सुधार देखाएको छ। सावित्रा भण्डारी साम्बा फेरि एकपटक निर्णायक सावित भइन्। उनले भारतविरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छन्, जबकि समग्रमा नेपालका लागि उनका ६८ गोल पुगेका छन्।

यो जितसहित नेपालले भारतविरुद्ध चौथो जित दर्ता गरेको छ। यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई हराएको थियो। त्यसपछि २०२२ र २०२४ मा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपाल विजयी बनेको थियो। पछिल्ला पाँच खेलमा नेपाल भारतविरुद्ध अपराजित रहँदै आएको छ।

भारतविरुद्धको खेलमार्फत युवा फरवार्ड मिना देउवाले नेपालको सिनियर महिला टिमबाट डेब्यु गरेकी छन्। उनी ७६औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। त्यस्तै, मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि महिला राष्ट्रिय टिमका प्रशिक्षकका रूपमा आफ्नो पहिलो जित आत्मसात गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्