ट्रम्पले मलेसिया भ्रमण सकेर एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा, जापान प्रस्थान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेसिया भ्रमण सम्पन्न गर्दै आफ्नो एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प हाल जापानतर्फ प्रस्थान गरेका छन्।

सीएनएनका अनुसार उनले भोलि जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उक्त भेटमा दुवै देशबीचको व्यापारिक सम्बन्ध, सुरक्षा सहयोग र एशिया–प्रशान्त क्षेत्रमा स्थायित्वका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

मलेसिया भ्रमणका क्रममा ट्रम्पले थाइल्यान्ड र क्याम्बोडियाबीच भएको शान्ति घोषणापत्रमा सहभागी हुँदै हस्ताक्षर गरेका थिए। यस कदमलाई दक्षिण–पूर्वी एशियामा स्थायित्व र सहकार्यको दिशामा सकारात्मक संकेतका रूपमा हेरिएको छ।

यसैबीच, अमेरिकी व्यापार वार्ताकारहरूले चीनसँग व्यापार सम्झौताका लागि प्रारम्भिक रूपरेखा तयार पारेका छन्। यो पहलले आगामी दिनमा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने उच्चस्तरीय भेटअघि व्यापारिक तनाव घटाउने संकेत दिएको अन्तर्राष्ट्रिय समाचारहरूमा जनाइएको छ।

व्यापारका विषयबाहेक ट्रम्पले आफ्नो भ्रमणका क्रममा चीनका शीर्ष नेतृत्वसँग भेट हुँदा रूसमाथि अमेरिकाको दबाब अभियानमा सहकार्य गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूले ट्रम्पको यो एशियाली यात्रा अमेरिकाको क्षेत्रीय प्रभाव विस्तार र चीनसँगको सम्बन्ध सन्तुलनमा राख्ने रणनीतिक प्रयासका रूपमा व्याख्या गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्