काठमाडौं । माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले सूर्य आराधनाको महान् पर्व छठका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहनुहुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीज्यूले शुभकामना सन्देशमार्फत वर्तमान परिस्थितिमा सबै नेपालीबीच अझ बढी एकता, समझदारी र सहकार्यको आवश्यकता रहेको उल्लेख गर्नुभएनु भयो ।
प्रधानमन्त्रीज्यूको सन्देशमा उल्लेख छ,
“छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका प्रतीक हुन् । अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझ बढी एकता र सद्भावको खाँचो छ।”
प्रधानमन्त्री कार्कीज्यूले सत्य, अहिंसा र प्रकृतिप्रेममा अभिप्रेरित छठ पर्वले तराई, पहाड र हिमालबीचको सांस्कृतिक तथा सामाजिक एकतालाई सुदृढ गर्ने सेतुको काम गरिरहेको बताउनुभएको छ ।
माननीय प्रधानमन्त्रीज्यूले हालको राजनीतिक अवस्थालाई सन्तुलित बनाउँदै आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभएको छ ।
प्रधानमन्त्रीज्यूले भन्नुभयो,
“सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन । असन्तुष्टि वा अडान भए पनि त्यसलाई शान्तिपूर्ण रूपमा प्रस्तुत गरी जनताको मन जितेर निर्वाचनमार्फत अनुमोदित गर्नु नै लोकतन्त्रको सर्वोत्तम मार्ग हो।”
उहाँले आगामी निर्वाचनलाई एक ‘राष्ट्रिय अनुष्ठान’ का रूपमा ग्रहण गरी सफल बनाउन सम्पूर्ण नागरिक, राजनीतिक दल र सरोकारवालाहरूलाई आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्रीज्यूले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो ।
छठ पर्वको सन्दर्भमा उहाँले पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी–पोखरीका किनारमा देखिने उल्लासमय दृश्यहरूले नेपाली समाजमा सद्भाव, खुशी र शान्तिको सन्देश फैलाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।






