काठमाडौं । सूर्य उपासना र पवित्रता, अनुशासन तथा आस्थाको पर्व छठ आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ अर्पण गर्ने परम्परा रहेको छ ।
यस पर्वमा भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको विधिवत् समापन गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने मुख्य दिनको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
ब्रतालुहरूले आज साँझ नदी, पोखरी तथा जलाशय किनारमा विशेष पूजा गरी सूर्यदेवप्रति धन्यवाद व्यक्त गर्ने गर्छन् । उनीहरूले रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिई व्रत पूरा गर्छन् ।
राजधानी काठमाडौंका गौरीघाट, कमलपोखरी, विष्णुमती किनारा, नख्खु, गहनापोखरी, कुपण्डोललगायत स्थानहरूमा छठ पूजाका लागि विशेष मण्डप र पूजास्थलहरू निर्माण गरिएको छ ।
पहिले मुख्यतः तराई क्षेत्रमा मनाइने यो पर्व अहिले पहाडी र हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ । यसले विभिन्न जातजाति र समुदायबीच सामाजिक सद्भाव र एकता सुदृढ गरेको छ ।
छठ व्रत विधिपूर्वक सम्पन्न गरे मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने र दुःख–कष्ट हट्ने जनविश्वास रहिआएको छ ।
व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान अपनाउने गर्छन् । केहीले भने कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि लसुन, प्याजजस्ता तामसी पदार्थ त्यागी सात्विक भोजन मात्रै ग्रहण गर्छन् । यही कारणले छठ पर्वलाई अत्यन्त पवित्र र अनुशासित चाडका रूपमा मानिन्छ ।






