जनकपुरधाम – मिथिला क्षेत्रमा अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठपर्वको दोस्रो दिन आज बर्तालुहरूले ‘खरना’ विधि गर्दैछन्। कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व आरम्भ गरेका व्रतालुहरूले आज स्नान गरी दिनभर निराहार उपवास बसेर साँझ खरना विधि सम्पन्न गर्ने तयारी गरेका छन्।
परम्पराअनुसार राति सक्खरमा पकाइएको खिर देवता तथा छठी देवीलाई चढाई त्यसैलाई प्रसादस्वरूप ग्रहण गरिन्छ। मिथिला क्षेत्रमा यो विधिलाई ‘खरना’ भनिन्छ।
भोलि सोमबार छठपर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन गरिने परम्परा छ। मुख्य दिनका लागि ठेकुवा, भुसवा, केराको घरी, माटाका हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीहरूको पवित्र तयारी सुरु गरिएको छ।
छठपर्वका अवसरमा जनकपुरधामका प्रमुख घाटहरू—गङ्गासागर, दशरथ तलाउ, धनुषसागर, अरगजा सर, मटकोरवा पोखरीलगायतमा विशेष सजावट गरिएको छ। स्थानीय प्रशासन र सरोकारवाला निकायहरूले घाटहरूको सरसफाइ र सुरक्षाको व्यवस्था मिलाएका छन्।
पारिवारिक सुख–समृद्धि, सन्तानको दीर्घायु र कल्याणको कामनासहित मनाइने छठपर्व मिथिलाको सबैभन्दा ठूलो पर्वका रूपमा स्थापित छ। पहिले तराई–मधेशमा सीमित यो पर्व अहिले काठमाडौं उपत्यकासहित पहाड र हिमालसम्म मनाउन थालिएको छ।
रामनन्दन महेन्द्र विश्वेश्वर क्याम्पस, जलेश्वरका प्राचार्य अजयकुमार झालका अनुसार पछिल्ला वर्षहरूमा छठपर्व साझा राष्ट्रिय पर्वका रूपमा विकसित हुँदै गएको छ।







