रुकुमपूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
रा १ ज ४२२ नम्बरको बोलेरो जिप जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गर्दा शुक्रबार दिउँसो दुर्घटनामा परेको हो।
प्रहरी निरीक्षक विष्णुप्रसाद ओलीका अनुसार मृत्यु हुनेमध्ये ६ जनाको पहिचान खुलेको छ।
मृतकहरूमा —
- आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली,
- १६ वर्षीय टेकजंग बुढा,
- १५ वर्षीया दिलमाया बुढा,
- १७ वर्षीया मनिका ओली,
- १८ वर्षीया शर्मिला बि.क., र
- २२ वर्षीय गोपाल ओली रहेका छन्।
उनका अनुसार एक जनाको अझै सनाखत हुन बाँकी छ।
दुर्घटनामा परेका १० जना घाइते भएका छन् भने उनीहरूको परिचय खुलेको छैन। सबै घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण संकलन भइरहेको र जिपमा सवार यात्रुहरूको वास्तविक संख्या अझै पुष्टि हुन बाँकी रहेको प्रहरी निरीक्षक ओलीले जानकारी दिए।






