काठमाडौं – भारत आईसीसी एकदिवसीय महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। हिजो सम्पन्न खेलमा भारतले न्यूजिल्यान्डलाई ५३ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।
अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकापछि आयोजक भारत सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ। मुम्बईको केडीवाई पाटिल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४९ ओभरमा तीन विकेट गुमाउँदै तीन सय ४० रनको विशाल योगफल बनाएको थियो। वर्षाका कारण खेल ४९ ओभरमा घटाइएको थियो।
तर पुनः वर्षा भएपछि खेल ४४ ओभरमा छोट्याइएपछि न्यूजिल्यान्डले तीन सय २५ रनको लक्ष्य पाएको थियो। लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्डले ४४ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ७१ रन मात्र बनाउन सक्यो।
यस हारसँगै न्यूजिल्यान्डसँगै श्रीलंका, बंगलादेश र पाकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन्। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको यस एकदिवसीय महिला विश्वकपको सेमिफाइनल खेल आउँदो कात्तिक २६ र २७ गते (नोभेम्बर १२ र १३) तथा फाइनल खेल कात्तिक ३० गते (नोभेम्बर १६) हुने कार्यक्रम छ।






