काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ। ह्वाइट हाउसले उक्त भेटवार्ताको औपचारिक पुष्टि गरेको हो।
दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म आयोजना हुने एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलनमा राष्ट्रपति ट्रम्प सहभागी हुनेछन्। सम्मेलन सुरु हुनु एक दिनअघि उनले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
दुवै नेताबीचको सम्भावित भेटबारे पहिले नै अड्कलबाजी भइरहे पनि अमेरिका–चीनबीचको बढ्दो तनावका कारण यसबारे अनिश्चितता देखिएको थियो। ट्रम्पले दोहोर्याएर अमेरिकी राष्ट्रपति पद सम्हालेपछि सी जिनपिङसँग हुने यो पहिलो भेटवार्ता हो।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुवै नेताबीचको वार्तामा व्यापार, ऊर्जा सहकार्य, युक्रेन युद्धलगायतका अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।






