अमेरिकाद्वारा रूसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध, शान्ति सम्झौताका लागि दबाब

काठमाडौं । युक्रेनमा शान्ति सम्झौताको पहललाई अघि बढाउन अमेरिकाले रूसमाथि थप दबाब दिने प्रयास स्वरूप दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट (Rosneft) र लुकोइल (Lukoil) लाई लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी कम्पनीहरूले रूसी सरकारलाई युक्रेन युद्धमा आर्थिक सहयोग गर्दै आएको भन्दै प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको हो । उहाँका अनुसार, रूसले युद्ध रोक्ने र शान्ति स्थापनाको प्रतिबद्धता जनाए प्रतिबन्ध तुरुन्त फिर्ता लिइनेछ ।

राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति स्थापनामा गम्भीर नभएको भन्दै असन्तुष्टी समेत व्यक्त गर्नुभएको छ । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले यी तेल कम्पनीहरूले क्रेमलिनको ‘युद्ध मेसिन’ लाई प्रत्यक्ष आर्थिक बल प्रदान गरिरहेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

उक्त नयाँ प्रतिबन्ध ट्रम्प र पुटिनबीच बुडापेस्टमा तय भएको वार्ता अन्तिम समयमा स्थगित भएपछि आएको हो । ट्रम्पले नेटो महासचिव मार्क रुटसँगको छलफलपछि पुटिनसँग हरेक पटक राम्रो कुराकानी भए पनि कुनै ठोस नतिजा ननिस्किएको टिप्पणी गर्नुभएको छ ।

यसैबीच, पछिल्लो वार्ता प्रयास असफल भएलगत्तै रूसले पुनः युक्रेनमा आक्रमण गरेको छ । आक्रमणमा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्