दार्चुलामा जात्राको लहर सुरु, आज लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने

दार्चुला – दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत आज शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्धित्तिया तिथि आर्थात् भाइटिकाको दिनको यो जात्रा पर्ने गर्दछ । आधिकारिक रुपमा जात्रा सुरु भएको समेत मान्ने गरिन्छ । यसपछि क्रमश जात्राको लहर सुरु हुन्छ ।

आज दिउँसो पुजन जात्राको रुपमा दियो बाल्ने, ध्वजा चढाउने, चिनोको रुपमा केहि धार्मिक बस्तुहरु चढाउने लगायतका काम हुन्छन भने रातीको समयमा भव्य मेला लाग्ने गर्दछ ।
जसमा लेकम क्षेत्र लगायत अन्य क्षेत्रहरुबाट समेत भक्तजन तथा दर्शनार्थीहरु आउने गर्दछन् । दिउँसो बृद्धबृद्धाहरु जम्मा हुन्छन भने रात्रीको समय सबै उमेर समुहका व्यक्तिहरु जम्मा भई जात्रा हुनेगर्दछ । बिहानै देखि व्यापारीहरु त्यस क्षेत्रमा पुगि पसल थापि सकेका छन भने दर्शनार्थीहरु आउने जाने क्रम चलिरहेको छ ।

बेलुकाको समयमा विभिन्न क्षेत्र तथा गाँउहरुबाट दमाहा सहितको झाकी निस्किन्छ भने देउडा खेलले पनि जात्राको रौनकता थपिदिन्छ । रातभरी दमाहाहरु बजाएर रमाइलो गरिन्छ भने बिहानीपख दमाहाको प्रतिस्पर्धा स्वरुप मन्दिर परिक्रमा गर्ने गर्दछन् । जसलाई स्थानीय भाषामा धुपदेउ भनेर भन्ने गरिन्छ । धुपदेउमा सबै गाउँका दमाहाहरु र दामाहा बजाउने व्यक्तिहरुले मन्दिर परिक्रमा गरिसकेपछि उत्कृष्ट टोलीलाई ध्वजा स्वरुप सम्मान गरिन्छ । जसलाई नेजा दिएको भनिन्छ । जुन दमाहालाई नेजा दियो उक्त दमाहा उत्कृष्ट भन्ने गरिन्छ ।

प्रत्येक वर्ष कात्र्तिक शुक्ल द्धित्तिया तिथिबाट सुरु हुने बन्तोली जात्रालाई सुरुवाती जात्रा मान्ने गरिन्छ भने लेकम गाउँपालिका २ मा रहेको कुणी भगवती जात्रा, शैल्यशिखर–८ झरकडामा रहेको गलैनाथ जात्रा तथा लेकम–४ खरकडाको पातिमा रहेको मन्दिरमा लाग्ने पूर्णिमाको जात्रालाई समापन जात्राको रुपमा लिने गरिन्छ ।

मालिकार्जुन गाउँपालिकाको वडानम्बर ४ को हुनौनाथ मन्दिर औतालेक र लेकम हुनैनाथ मन्दिर कुणी र सर्मोलीको धुरामा अष्टमीका दिन जात्रा लाग्ने गर्छ । लेकम क्षेत्रकै ठूलाे जात्रा मानिने लेकम गाउँपालिका वडा नम्बर ५ को लटिनाथ जैपुर मन्दिरमा नवमी तिथिमा जात्रा लाग्ने गर्दछ । त्यस्तै मालिकार्जुन – ३ मा रहेको देशकै सातौँ धाम मालिकार्जुन मन्दिर तथा लेकम – ६ उचाकोटमा रहेको मालिकार्जुन मन्दिरमा  चर्तुदशी तिथिमा जात्रा लाग्ने गरको छ ।

लटिनाथ देवताको ईतिहास

लटिनाथ देवताको संक्षिप्त इतिहास
“आगा हुल तोई दिउलो पाछा हुल मेरी
दुत्या हुल तोई दिउलो चतुर्दशी मेरी”
उल्लेखित उद्दरणहरु प्राचीन डोटी र कुमाउँ क्षेत्रका लोक प्रशिद्ध देवता लटिनाथको गाथा (झोडो)का हुन् ।ठाउँ अनुसार लटिनाथलाई लटबाब,लट्या,लाटो आदि नामले पुकारिन्छ ।
लटिनाथलाई एक महान योद्धा र न्यायका देवताको रुपमा लिने गरिन्छ । पिता मलैनाथले हुणदेशका राजा छिपलाकि रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले आफ्नो सैन्यबलका साथ मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा सो आक्रमणको प्रतिउत्तर दिन आफूसङ्ग कोही वीर योद्धा नभएको र जेठो छोरा लटिनाथलाई नदीमा बगाएकोमा पश्चाताप गरिरहेको समयमा मार्मा थलीबाट लटिनाथको प्रस्थान युद्धस्थलबाट हुन्छ ।
शिखरधुरामा मलैनाथ र भागाश्री लुकेको स्थान पत्ता लगाउन छिपला पक्षले दह बाँधी सो दहबाट प्रकाश परावर्तन गराउन लाग्दा लटिनाथले १२ मन फलामको गोला प्रहार गरि उक्त दह भत्काईदिएको किम्बदन्ती पाईन्छ । साथै छिपला पक्षको आक्रमणबाट परेका पहिरोहरुलाई पिठ्यु थापेर माथितिर फर्काईदिएको कुरा पनि लटिनाथको गाथा (झोडो) मा सुन्न पाईन्छ ।

मलैनाथ पक्षको सेनापतिको भुमिकामा रहेका लटिनाथले युद्धमा छिपला पक्षलाई पराजित गरिसकेपछी मलैनाथ र लटिनाथको चिनजान भएको प्रसङ्ग आउँछ । कुराकानीका क्रममा आफुले अरु रानीहरु र ज्योतिषको कुरा सुनेर पितालाई पिर्ने ग्रह परेको भनेर नदीमा बगाएको शोभाश्री पुत्र उनै लटिनाथ भएको प्रस्ट हुन्छ । एकातर्फ छिपलामाथीको विजय र अर्कोतर्फ बर्षौ पहिले शिशु अवस्थामा नदीमा बगाईएको पुत्र जवान भएर फर्किएको देख्दा मलैनाथलाई औधी खुसी लाग्छ । खुसीकै माहोलमा मलैनाथले आफ्नो भन्दा पहिले पुजाआजा हुने र जात्रा लाग्ने घोषणा गर्नुहुन्छ । सोही अनुरुप कार्तिक शुक्ल द्वितियामा लटिनाथको र कार्तिक शुक्ल चतुर्दशीमा मलैनाथको जात्रा लाग्ने गर्दछ ।
लटिनाथको मुल बासस्थान दार्चुला जिल्लाको मार्मा क्षेत्रमा पर्ने तलाईमाडौं हो । लटिनाथले आफ्नो जीवनकालमा केही समय बसोबास गरेका अन्य सबै क्षेत्रहरुमा लटिनाथको मन्दीर रहेको छ । त्यसमध्ये शैल्यशिखर -०७ बन्तोली पनि एक हो । मुलथान तलाईमाडौं पछि बन्तोली, जयपुर, चौड र खर्कलाई विशेष महत्त्व दिने गरिन्छ । बन्तोली लगायत लटिनाथका मन्दिरहरुमा प्रत्येक बर्ष कार्तिक शुक्ल द्वितियाका दिन पुजा आराधना एवम् रात्रीकालिन भव्य जात्रा लाग्ने गर्दछ ।
जात्रामा देवीदेवताको दर्शन गर्ने,आफन्तसङ्ग भेटघाट गर्ने,लोकगीत गाउने,लोक नृत्यहरु गर्ने,लोकबाजाहरु बजाउने समेत गरिन्छ । पुर्खाहरुले ठूलो अध्ययन र अनुभवका आधारमा यी रात्रीकालिन जात्राहरु सुरु गरेका हुन् ।

तस्बिर: बिष्णुदत्त जोशीको फेसबुकबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्