कञ्चनपुर- प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका युवा विपिन जोशीको शवयात्रा मंगलबार बिहान हजारौं शोकाकुल सर्वसाधारणको सहभागितामा सुरु भएको छ।
जोशीको अन्त्येष्टि भीमदत्त नगरपालिका–३ भुजेलाघाटस्थित महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ गरिँदैछ। शवयात्रामा स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षाकर्मी र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको छ।
विपिनको शव सोमबार काठमाडौं ल्याइएपछि नेपाली सेनाले साँझ धनगढी विमानस्थलसम्म पुर्याएको थियो। त्यहाँबाट राति नै उनको भीमदत्त–३ स्थित घरमा लगिएको थियो।
शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी भएका छन्। विपिनको सम्मानमा सशस्त्र प्रहरीद्वारा औपचारिक सलामी अर्पण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहरले जानकारी दिए।
शोकाकुल वातावरणमा भइरहेको अन्त्येष्टिमा स्थानीयहरूले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै “देशका लागि बाँच्ने र मर्ने युवाको नाम कहिल्यै बिर्सिनु हुँदैन” भन्ने भावना व्यक्त गरेका छन्।






