काठमाडौं- जेन-जी आन्दोलनको चपेटामा परेर आलोचनाको घेरामा आएका पूर्वऊर्जामन्त्री दीपक खड्का स्वदेश फर्किएका छन्। सोमबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफू भागेको नभई परिस्थितिका कारण केही समय भारत गएको प्रष्ट पारे।
खड्काले बताएअनुसार आन्दोलनपछिको त्रासदीपूर्ण अवस्थाले उनको परिवार मानसिक तनावमा परेको थियो। “त्यो उत्पातपछि मैले त सहन सक्थेँ, तर श्रीमतीलाई ट्रमाजस्तो भयो,” उनले भने, “त्यसैले केही दिन बाहिर निस्कनुपर्यो भनेर तराई गयौं। त्यहाँ डेंगी भयो, मलाई पनि भयो।”
उनका अनुसार त्यसपछि उनी परिवारसहित भारतको नयाँदिल्ली पुगेका थिए र मेदान्त अस्पतालमा उपचार गराएका थिए। “म राजनीतिज्ञ हुँ, भाग्ने मान्छे होइन,” खड्काले स्पष्ट पारे।






