काठमाडौं- टिकटक तथा मोडलिङमार्फत चिनिएकी आँचल नाथको मृत्यु प्रकरणमा काठमाडौं जिल्ला अदालतमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा उक्त मुद्दा दायर गरिएको हो।
मुद्दामा काठमाडौं नरेफाँटकी २६ वर्षीया सञ्जु विक, उनकी श्रीमती उर्मिला विक (अनु), सरस्वती भण्डारी (सरु), २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ। तीमध्ये सञ्जु विक मात्र हाल प्रहरीको नियन्त्रणमा रहेका छन् भने बाँकी चार जना फरार रहेका छन्। उनीहरूमाथि फरार प्रतिवादीका रूपमा मुद्दा चलाइएको छ।
प्रहरीका अनुसार मोडल आँचल नाथ केही म्युजिक भिडियो र सामाजिक सञ्जाल टिकटकमार्फत सक्रिय थिइन्। दुई वर्षअघि जापानी भाषा अध्ययन गर्न गाउँबाट काठमाडौं आएकी उनी भक्तपुरमा डेरा गरी बस्दै आएकी थिइन्।
पीडितका भिनाजु प्रकाशनाथ योगीले दिएको जाहेरी अनुसार, आँचलको केही समयदेखि सरस्वती भण्डारीसँग विवाद चलिरहेको थियो। टिकटकमार्फत सञ्जु विकसँग चिनजान भएकी आँचल उक्त विवादमा सञ्जुको समेत संलग्नता रहेको बताइएको छ। सञ्जुकी श्रीमती उर्मिला विकले पनि विवादमा थप उक्साउने काम गरेको जाहेरीमा उल्लेख छ।
घटनाको दिनको विवरण
जाहेरीअनुसार, असोज ९ गते दिउँसो ४ बजे सञ्जु विकको ग्यारेजमा भएको छलफलका क्रममा प्रतिवादीहरूले आँचलमाथि गालीगलौज गर्दै जथाभावी व्यवहार गरेका थिए। त्यही क्रममा ज्यान मार्ने धम्कीसमेत दिइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार, ती घटनाक्रमपछि मानसिक तनावमा आएकी आँचलले शरीरमा पेट्रोल छर्किएर आफैँमा आगो लगाएकी थिइन्। गम्भीर रूपमा घाइते भएपछि सञ्जु विकले उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्याएका थिए। उपचारको क्रममा चिकित्सकहरूले आँचलको मृत्यु घोषणा गरेका थिए।
सञ्जु विकको बयान
पक्राउ परेका सञ्जु विकले प्रहरी समक्ष दिएको बयानमा आफूहरूले कुनै धम्की नदिएको दाबी गरेका छन्। “आगो लागेको देखेपछि मैले ज्याकेटले निभाउन खोजें, नभएपछि पानी खन्याएँ र ब्ल्याङ्केटले छोपेर ट्याक्सीमार्फत अस्पताल लगेँ,” सञ्जुले भनेका छन्।
कानूनी प्रावधान
मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अनुसार, “कसैलाई आत्महत्या गर्न उक्साउने वा त्यस्तो परिस्थिति खडा गर्ने काम गर्न नहुने” उल्लेख छ। यस्तो कार्य गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुन सक्छ।
प्रहरीका अनुसार, घटनासम्बन्धी थप अनुसन्धान जारी छ। फरार प्रतिवादीहरूको खोजी तीव्र पारिएको जनाएको छ।






