काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित सुरक्षा निकायका विशिष्ट व्यक्तित्वहरुसँगको छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख श्री मिठाराम अधिकारीको अध्यक्षता तथा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री ईश्वर राज पौडेलको प्रमुख आतिथ्यमा नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाभित्र रहेका सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तित्व, कार्यपालिका सदस्य, कर्मचारी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा प्रमुख प्रशासकीय अधिकृत श्री अजय बर्तौलाले कार्यक्रमको औचित्य र उद्देश्यबारे प्रकाश पार्दै सबै अतिथिहरूलाई स्वागत गर्नुभयो ।
समसामयिक विषयमा केन्द्रित छलफलमा देशमा उत्पन्न पछिल्लो घटनाक्रम, नगरपालिकाको सुरक्षा रणनीति, सुशासन, भ्रष्टाचार न्यूनीकरण, सुरक्षा जोखिम मूल्याङ्कन, र नेपाल प्रहरी तथा नगर प्रहरीबीचको समन्वयको विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए ।

छलफलका क्रममा नगर उप–प्रमुख श्रीमती अनिता लामाले टोलस्तरमा शान्तिपूर्ण वातावरण निर्माणका लागि स्थानीयवासीको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त माननीय जयबहादुर चन्दले शासन व्यवस्थाको मजबुतीका लागि सुरक्षा निकायको भूमिका अपरिहार्य रहेको भन्दै नगरपालिकाले वडा तथा बस्तीस्तरमा सुरक्षा सचेतना फैलाउनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी श्री ईश्वर राज पौडेलले काठमाडौँ सामान्य अवस्थातर्फ फर्किँदै गरेको बताउँदै कानुन र विधि पालना सुनिश्चित गर्न सिसिटिभि नेटवर्किङ र प्रहरीबीचको सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको समापन गर्दै नगर प्रमुख श्री मिठाराम अधिकारीले नगरपालिकामा सुशासन कायम गर्न आफू र आफ्नो टिम प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जनताको सुरक्षाका लागि सिसिटिभि र सडक बत्तीलाई जनताको नजिकको साथीको रूपमा विकास गरिँदै आएको उल्लेख गर्दै, यसका लागि नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी गरिरहेको जानकारी दिनुभयो । साथै, नगरको समृद्धिका लागि सबै निकाय एकजुट भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नगरपालिकाले यसअघि पनि विद्यालयका प्रधानाध्यापकहरूसँग बैठक, उद्योग, होटल तथा पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया, मेलमिलापकर्ता र नगर स्काउटसँगको संवाद, तथा विशिष्ट प्रबुद्ध वर्गहरूसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिसकेको छ ।









