तिहारको सार्वजनिक बिदा आजदेखि सुरु, सरकारी कार्यालय आइतवार मात्रै खुल्ने

काठमाडौं – पाँच दिन लामो तिहार पर्वको सार्वजनिक बिदा आजदेखि सुरु भएको छ। अब सरकारी तथा सार्वजनिक कार्यालय कात्तिक ९ गते आइतवार मात्रै खुल्नेछन्। कात्तिक ६ गते बिहीवार भाइटीका परेको छ भने त्यसपछि शुक्रबार र शनिबार पनि बिदा पर्ने भएकाले कार्यालयहरू अब आइतवारदेखि मात्र सञ्चालनमा आउनेछन्।

तिहार र छठ पर्व मनाउन थुप्रै नागरिकले उपत्यका छोड्न थालेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार यो तिहारमा करिब ६ लाख मानिस काठमाण्डौ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यसपटक बिदा लामो भएकाले काठमाण्डौ छोड्नेको सङ्ख्या अघिल्ला वर्षको तुलनामा केही बढ्ने अपेक्षा गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यात्रुहरूलाई सहजता प्रदान गर्न यातायातका साधनहरू पर्याप्त मात्रामा उपलब्ध हुने व्यवस्था मिलाइएको छ।

दशैँमा पहिरोका कारण मुख्य राजमार्गमा यात्रुहरूले सास्ती बेहोर्नुपरेको भए पनि अहिले सडकको अवस्था सुधारिएको र तिहारको समयमा सहज यात्रा सम्भव हुने बताइएको छ।

यद्यपि, तिहारका बेला पनि काठमाण्डौ उपत्यका पूरै सुनसान भने नहुने अनुमान गरिएको छ। दशैँको तुलनामा तिहारमा राजधानीमा चहलपहल केही कायम रहने देखिन्छ।

तिहारको यो बिदालाई धेरैले परिवार, आफन्त र साथीभाइसँग समय बिताउने अवसरका रूपमा लिने गरेका छन् भने कतिपयले पर्यटकीय गन्तव्यतर्फ समेत जाने योजना बनाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्