काठमाडौँ — लगातार तीन दिनसम्म ओरालो लागेको शेयर बजारमा आज सुधार देखिएको छ। तिहार बिदाअघि अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.६७ अंकले बढेर २,५०३.८५ विन्दुमा पुगेको छ।
आजको बजारमा विकास बैंक, म्युचुअल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको सूचकमा वृद्धि देखिएको छ। विशेषगरी ‘अन्य समूह’को सूचक १.१६ प्रतिशतले बढेको छ, जसले समग्र बजारलाई उकालो तिर धकेल्न सहयोग गरेको हो।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज १० प्रतिशतले उक्लिएको छ, जुन आजको दिनको सबैभन्दा धेरै मूल्य वृद्धि हो। तर, समग्र बजार बढेको दिन पनि हिमालयन म्युचुअल फन्डको शेयर भने ६ प्रतिशतभन्दा बढीले घटेको छ।
यद्यपि नेप्सेमा सुधार आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गएको बिहीबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका ६१ लाख ९९ हजार कित्ता शेयर मात्र २ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ।
अब तिहार बिदाका कारण शेयर बजार भोलिदेखि बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बजार अब आउँदो आइतबार, कात्तिक ९ गतेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।






