काठमाडौँ — भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा हालसम्म ६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ।
आज बिहानसम्मको तथ्यांक अनुसार अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले उक्त रकम सङ्कलन भएको जानकारी दिनुभएको छ। सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरी सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली (एनआरएन), विकास साझेदार र विभिन्न संघ–संस्थालाई योगदानका लागि आग्रह गरेको थियो।
पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालू आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन सकिने वा खर्च कट्टी गर्न पाइने व्यवस्था पनि सरकारले मिलाएको छ।
अर्थ मन्त्रालयले यस कोषमा योगदान गर्ने व्यक्तिहरूको विवरण सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ।
यस पहलले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको छिटो र व्यवस्थित पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






