काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । गृहमन्त्रीले बोलाएको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगतिबारे समीक्षा गर्दै आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नासाथ सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरेका थिए । उक्त समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य–सचिव रहेका छन् ।
समितिले तयार पारेको सुरक्षा योजना कार्यान्वयनका लागि अब जिल्लातहमा पठाइनेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले सो योजनाको कार्यान्वयन गर्नेछ । ‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालले भने, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’ गृह मन्त्रालयका अनुसार आगामी निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन केन्द्रदेखि स्थानीय तहसम्म सुरक्षाका तयारीलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।






