काठमाडौं – जेनजी (Gen Z) युवा नेता मिरज ढुंगानाले आफू जेनजीको अगुवा भए पनि हालको सरकारले प्रतिनिधित्व गरेको जेनजी समूहमा आफू नपर्ने बताएका छन् । शनिबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार जेनजी पुस्ताकै नेतृत्वमा बनेको भए पनि त्यसले आफ्नो दृष्टिकोण र एजेन्डा आत्मसात् नगरेको आरोप लगाए । ढुंगानाले भने, “हो, यो सरकार जेनजीकै हो, तर म त्यस जेनजीमा पर्दिनँ । किनभने जेनजी पनि धेरै खालका छन् ।”
पत्रकार सम्मेलनमा एक सञ्चारकर्मीले फागुनमा हुने निर्वाचनमा जेनजीको सहभागिता र प्रत्यक्ष कार्यकारी प्रणालीबारे प्रश्न गर्दा ढुंगानाले आफूहरूको मुद्दा अझै अधुरो रहेको बताएका थिए । पत्रकारको प्रश्न थियो – “तपाईंहरूकै भनाइ अनुसार यो सरकार जेनजीले बनाएको हो भने, सरकारले गर्न लागेको निर्वाचनमा सहभागी नहुने भन्न मिल्छ ?” जवाफमा ढुंगानाले स्पष्ट पारे, “हामीले सुरुवातमै भनेका थियौं, प्रत्यक्ष कार्यकारी प्रणालीमा सहमति भए मात्र हाम्रो सहभागिता हुन्छ । अहिले पनि हामी सोही अडानमा छौं ।” उनले जेनजी पुस्ता अहिले राजनीतिक रूपमा विभाजित र असंगठित रहेको भन्दै अबको प्राथमिकता संगठन निर्माणमा हुनुपर्ने बताए । ढुंगानाको भनाइ थियो, “हामी जेनजीहरूले अब वा त एनजीओ, वा त राजनीतिक दल खोल्नुपर्छ । नत्र हाम्रो मुद्दा हराउने खतरा छ ।” पत्रकार सम्मेलनमा उनले जेनजी पुस्ताले समावेशी, नवीन सोच र उत्तरदायित्वपूर्ण नेतृत्वको अभ्यास गर्नुपर्नेमा जोड दिएका थिए ।






