दार्चुलाका रणनीतिक महत्वका आयोजनाहरूको निर्माण अघि बढाउन मन्त्री घिसिङको ध्यानाकर्षण

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग दार्चुला जिल्लाका रणनीतिक महत्वका आयोजनाहरूको निर्माण कार्यमा तीव्रता ल्याउन र आवश्यक बजेटको व्यवस्था गर्न माग गर्दै दार्चुलाबाट आएको प्रतिनिधिमण्डलले भेटघाट गरेको छ।

दार्चुला बासीको तर्फबाट अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र युवा नेता तथा अधिवक्ता नरबहादुर बिष्टले मन्त्री घिसिङलाई पाँच बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्।

ध्यानाकर्षणपत्रमा दार्चुलाको भौगोलिक, सामरिक र विकासीय महत्वका आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखी तत्काल कार्यान्वयन अघि बढाउन अनुरोध गरिएको छ।

प्रतिनिधिमण्डलले सरकारको २०७५/७६ सालको नीति अनुसार प्रत्येक स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल विस्तार गरिने घोषणा भए पनि अपि हिमाल गाउँपालिकाको केन्द्रसम्म अझै सडक ट्र्याकसमेत नखुलिएको भन्दै तत्काल बजेटको व्यवस्था गर्न माग गरेको छ।

त्यस्तै, नेपालको सामरिक दृष्टिले महत्वपूर्ण छाङरु–तिंकर सडक आयोजना लामो समयदेखि अधुरो रहेको र पर्याप्त बजेट अभावले नेपाली सेनाले सुरु गरेको ट्र्याक खोल्ने कार्यमा ढिलाइ भएको भन्दै बजेट वृद्धि गर्न आग्रह गरिएको छ।

यसैगरी बिटुले–पारिवगर–मकरिगाड सडक खण्ड ट्र्याक खुलेको दुई दशक बितिसक्दा पनि कालोपत्र हुन नसकेकोले यो सडकलाई पूर्ण रूपमा कालोपत्र गर्न उच्च प्राथमिकतामा राख्न माग गरिएको छ।

त्यस्तै, लेकम गाउँपालिका–२ मा रहेको चमेलिया नदीमाथिको धन्थला मोटरेबल पुल निर्माणमा ढिलाइ हुँदा महाकाली करिडोर सञ्चालनमा आउन नसकेकोले तत्काल ठेक्का प्रक्रिया अघि बढाउन माग गरिएको छ।

साथै, दार्चुला–डोल्पा विद्युतीकरण आयोजना अन्तर्गत ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेको र मजदुरलाई समयमा ज्याला नदिएको गुनासो आएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।

प्रतिनिधिमण्डलले मन्त्रालयबाट आवश्यक अनुगमन गरी यी आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइएमा दार्चुला जिल्लाको विकास, सामरिक सुदृढीकरण र स्थानीय जनजीवनमा ठूला परिवर्तन आउने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्