काठमाडौं – आउँदो फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने उद्देश्यले नयाँ राजनीतिक दल दर्ताको चासो बढ्दै गएको छ। निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रियाबारे जानकारी लिन पुग्नेको संख्या तीव्र रूपमा बढिरहेको आयोगले जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिले धेरैले प्रक्रिया बुझिरहेका भए पनि हालसम्म तीन वटा मात्र नयाँ दलका फाइल आयोगमा दर्ता भएका छन्। उनका अनुसार कागजात अध्ययनको प्रक्रिया चलिरहेको छ र सबै कानूनी प्रक्रिया पूरा भएपछि दर्ता प्रमाणपत्र जारी गरिनेछ।
मौजुदा कानुनअनुसार नयाँ दल दर्ता गर्न वर्षभर नै सकिने व्यवस्था भए पनि फागुन २१ गते हुने चुनावमा भाग लिन कात्तिक मसान्तभित्र दर्ता प्रमाणपत्र लिनु पर्ने आयोगले स्पष्ट पारेको छ। चुनाव प्रायोजनका लागि दल दर्ता गर्ने समयसीमा मङ्सिर १ देखि १० गतेसम्म रहनेछ। त्यसअघि कात्तिक ३० गतेसम्म दल दर्ताको स्वीकृति पाएका दल मात्र आगामी निर्वाचनमा भाग लिन योग्य हुनेछन्।
हालसम्म आयोगमा १ सय २२ वटा राजनीतिक दल दर्ता भइसकेका छन्। कानूनी व्यवस्थाअनुसार आवश्यक कागजात पूरा गरेपछि आयोगले ४५ दिनभित्र दल दर्ता प्रमाणपत्र प्रदान गर्नुपर्ने हुन्छ। नयाँ दल दर्ताका लागि कम्तीमा ५ सय जना हस्ताक्षरकर्ता, नागरिकताको प्रमाणपत्र, र सम्बन्धित कानूनी कागजात आवश्यक पर्छ। यसैबीच आयोगले आगामी निर्वाचन तयारीका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफलको तयारी अघि बढाएको छ। प्रवक्ता भट्टराईका अनुसार पहिलो चरणमा भोलि बिहीवार २९ वटा दललाई छलफलका लागि बोलाइएको छ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व भएका दलहरूसँग पहिलो चरणमा संवाद गरिने र त्यसपछि बाँकी दलहरूसँग पनि क्रमशः छलफल अघि बढाइने आयोगले जनाएको छ।







