काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशभरका जलविद्युत् आयोजनाहरूमा फ्री (निशुल्क) शेयर माग्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । बुधबार इप्पानले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो मागका कारण केही आयोजनाहरूमा तोडफोडसमेत हुन थालेको जानकारी दिए ।
उनले भने, “थुप्रै आयोजनामा फ्री शेयर माग्न थालिएको छ । आयोजनामा तोडफोड हुन थालेको छ । यसको जिम्मा प्रधानमन्त्रीले लिने कि नलिने ?” भोटेकोशी जलविद्युत् आयोजनामा भएको हालको विवादपछि अराजकता बढेको उनको आरोप छ । ऊर्जा उत्पादकहरूका समस्या सम्बन्धी कुरा सुरक्षाजन्य निकायदेखि लिएर नियामक निकायसम्मले बेवास्ता गरेको गुनासो गर्दै उनले भने, “उर्जा उत्पादकहरूको समस्या सेबोनले नसुनेको अवस्था छ । आईपीओ ल्याउन नपाउँदा आयोजनाहरू समस्या र वित्तीय संकटमा परेका छन् ।” कार्कीले ऊर्जा क्षेत्रको स्थायित्वका लागि सरकारले नीतिगत स्पष्टता ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले थपे, “अब हामी अदालतदेखि अख्तियारसम्म जानुपर्ने अवस्था आएको छ, आवश्यक परे आन्दोलनसम्म गर्न पछि हट्दैनौं ।”
इप्पानका अनुसार हाल मुलुकभर निर्माणाधीन र सञ्चालनमा रहेका धेरै निजी क्षेत्रका जलविद्युत् आयोजनाहरू फ्री शेयरको दबाब, ढिलो अनुमतिपत्र, र नियामक निकायको लापरबाहीका कारण आर्थिक संकटमा परिरहेका छन् ।






