आज विश्व हात धुने दिवस

FILE PHOTO

काठमाडौं । आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस विश्वभर मनाइँदैछ । हरेक वर्ष अक्टोबर १५ मा मनाइने यो दिवस सन् २००८ देखि सुरु गरिएको हो । यस वर्ष नेपालमा ‘सायद पञ्जा नै हुन सक्छ, तर कुरा सधैं हातको स्वच्छताकै हुन्छ’ भन्ने नाराका साथ विविध कार्यक्रममार्फत दिवस मनाइँदैछ ।

ग्लोबल ह्यान्डवासिङ पार्टनरसिपले १७ वर्षअघि सुरु गरेको यो दिवसको उद्देश्य साबुन र पानीको प्रयोगबाट हातको स्वच्छता कायम गरी स्वास्थ्य सुधारका लागि सचेतना फैलाउने हो । हात सफा राख्नु हैजा, झाडापखाला, रुघाखोकी, निमोनिया जस्ता सङ्क्रमणजन्य रोगहरूबाट बच्ने सबैभन्दा सरल, सस्तो र प्रभावकारी उपाय मानिन्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार साबुन र पानीको प्रयोग गरी कम्तीमा २० सेकेण्डसम्म हात धुनु, औँला र नङहरू राम्ररी सफा गर्नु, खाना पकाउँदा वा खानुअघि, बाथरुम प्रयोग गरेपछि, खोक्दा वा हाछ्युँ गर्दा, र नाक छोएपछि हात धुनु अत्यावश्यक हुन्छ । यसले व्यक्तिगत स्वास्थ्य मात्र होइन, सामुदायिक रोग नियन्त्रणमा समेत ठूलो योगदान पुर्‍याउँछ ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, विश्वमा हरेक वर्ष झन्डै एक करोड ८० लाख बालबालिकाको मृत्यु झाडापखालाजस्ता रोगका कारण हुने गरेको छ । नियमित रूपमा हात धुने व्यवहार अपनाउन सके यस्ता रोगका कारण हुने मृत्युदरलाई उल्लेख्य रूपमा घटाउन सकिने वैज्ञानिक प्रमाणहरू छन् ।

स्वच्छ हातले सुरक्षित जीवनको सुनिश्चितता दिलाउने सन्देशसहित विश्वभर सरसफाइ अभियान, सचेतना कार्यक्रम र विद्यालयस्तरमा स्वास्थ्य शिक्षा गतिविधिहरू सञ्चालन गरिँदैछन् । नेपालमा पनि विद्यालय, स्वास्थ्य संस्था र समुदायस्तरमा ‘सफा हात–स्वस्थ जीवन’ अभियान चलाइएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्