संसद् विघटनबारे सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा संसद् विघटनसम्बन्धी छलफलका लागि सर्वदलीय बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ ।

सभामुख घिमिरेले हालैको प्रतिनिधि सभा विघटनका विषयमा दलहरूको औपचारिक धारणा संकलन गर्न बैठक आयोजना गरेका हुन् । बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका प्रतिनिधिहरू सहभागी छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने बैठकमा अनुपस्थित रहेको स्रोतले जनाएको छ ।

सभामुखले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जानु उचित हुन्छ कि हुँदैन भन्ने विषयमा दलहरूको धारणा लिँदैछन् । प्रतिनिधि सभा विघटनपछि राजनीतिक दलहरूबीच मतभेद देखिएको र उक्त विषयमा ठोस निर्णयका लागि सभामुखले पहल गरेको बताइएको छ ।

दलहरूको राय संकलनपछि सभामुख घिमिरेले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरूसँग पनि छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध अदालतमा जाने कि नजाने भन्ने विषयमा सरोकारवालाहरूबीच दुवै धारका सुझाव आएको बताइएको छ । अन्ततः दलहरू, कानुनी विज्ञ र बार पदाधिकारीहरूसँगको परामर्शपछि सभामुखले आगामी कदमबारे निर्णय गर्ने तयारी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्