देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने मनस्थिति बनाएका छन् । आज बस्दै गरेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा स्वयं उपस्थित भएर आफ्नो धारणा राख्ने र सोही क्रममा कार्यवाहकको जिम्मेवारी उपसभापति खड्कालाई दिने तयारी भइरहेको उनको निकट स्रोतले जनाएको छ ।

देउवाले पार्टी सभापतिबाट राजीनामा दिएर कार्यवाहक तोक्ने वा नेतृत्वमा रहँदै कार्यभार मात्र सुम्पने भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट निर्णय भएको छैन ।

नेपाली कांग्रेसको विधानअनुसार विदेश जाँदा मात्र सभापतिले कार्यवाहक तोक्न सक्ने प्रावधान छ । तर स्वदेशमै रहँदा नेतृत्वमा रहँदै कार्यभार हस्तान्तरण गर्ने व्यवस्था छैन । यद्यपि, अघिल्ला दिनमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पनि आफैं सभापतिमा रहँदै सुशील कोइरालालाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा सुरु हुँदैछ । आजको बैठकको अध्यक्षता सभापति देउवाले नै गर्ने तय भएको छ ।

पार्टीभित्र देउवाको स्वास्थ्य र सक्रियता घट्दै गएको चर्चा चलिरहेका बेला कार्यवाहक तोक्ने तयारीलाई नेतृत्व हस्तान्तरणको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्