काठमाडौं – गएको भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सर्वोच्च अदालतले ३६ दिनपछि आजदेखि रिट निवेदन दर्ता थाल्ने भएको छ । आजदेखि रिट निवेदन दर्ता र केही रिटमा सुनुवाइ समेत प्रारम्भ हुने सर्वोच्चले जनाएको छ । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आइतबार बसेको फुल कोर्ट (पूर्ण बैठक) ले रिट निवेदन दर्ता सुरू गर्ने निर्णय गरेको हो ।
जेन–जी आन्दोलनपछि सर्वोच्चले केवल बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमात्र सुनुवाइ गर्दै आएको थियो । सो समयदेखि रिट दर्ता, मुद्दा दर्ता र नियमित सुनुवाइसम्बन्धी सेवा पूर्ण रूपमा ठप्प रहेको थियो । हाल सर्वोच्च अदालतमा करिब २५ हजार मुद्दा सुनुवाइको प्रतीक्षामा रहेका छन् । आन्दोलनअघि दैनिक तीनदेखि चार सय मुद्दाको सुनुवाइ हुँदै आएको थियो ।
अदालत प्रशासनका अनुसार आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण सर्वोच्चको संरचनागत तथा सामग्रीगत गरी करिब एक अर्ब २६ करोड रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । सर्वोच्चमा रिट दर्ता र नियमित सुनुवाइ पुनः सुचारु भएपछि लामो समयदेखि रोकिएका मुद्दा क्रमिक रूपमा अघि बढाइने जनाइएको छ ।






