सेयर बजार ४४ अंकले उक्लियो, कारोबार भने घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढ्दै २५४७ अंकमा पुगेको छ । बजार खुल्दाको केही उतारचढावपछि साढे १२ बजेतिरदेखि लगानीकर्ताको विश्वास बढ्दै बजारले तीव्र उकालो लिएको हो । आज सबै समूहगत सूचक सकारात्मक बनेका छन् ।

समग्र बजार वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ९७ करोडमा सीमित रह्यो । २ सय कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको घटेको र ८ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ । सबैभन्दा बढी अन्य समूह ५.०१ प्रतिशतले उक्लिएको छ । त्यसपछि होटल तथा पर्यटन ३.३५, व्यापार २.८१, लगानी २.२७, हाइड्रोपावर २.१०, जीवन बीमा १.९२, विकास बैंक १.४१, निर्जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.५६, फाइनान्स १.०२ र बैंकिङ ०.२८ प्रतिशतले बढेका छन् ।

मूल्य वृद्धिका हिसाबले नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स शीर्षमा रहेका छन्, जसको मूल्य १० प्रतिशतले उक्लिएको छ । त्यस्तै इमर्जिङ नेपाल ९.९, एनआरएन इन्फ्रास्ट्रक्चर ९.८, बुटवल पावर कम्पनी ८.९८ र सीईडीबी होल्डिङ्स ८.४५ प्रतिशतले बढे ।

उता, कर्पोरेट डेभलपमेन्ट बैंक ५.२६, थ्रीस्टार हाइड्रोपावर ४.४५ र समता लघुवित्त ३.५३ प्रतिशतले घटे । आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा बजारमा देखिएको स्थिरता र लगानीकर्ताको विश्वास पुनः फर्किनु आजको वृद्धि पछाडिको मुख्य कारण हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्