काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा राख्न सम्बन्धित सबै व्यवसायी र आपूर्तिकर्तालाई पुनः ध्यानाकर्षण गराएको छ । विभागका अनुसार नियमित बजार अनुगमनका क्रममा तिहारका लागि प्रयोग हुने भाइ मसला, तामा–चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विभिन्न विद्युतीय सामग्रीलगायतका वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखिएको पाइएको छ ।
बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम राख्न विभागले निरन्तर प्रयास गरिरहेको जनाएको छ । यस कार्यमा व्यापारिक सङ्घ–सङ्गठन, व्यवसायी तथा उपभोक्ता र उपभोक्तावादी संस्थाहरूको समान योगदान आवश्यक रहेको विभागको भनाइ छ ।
त्यसैगरी, विभागले उपभोक्तालाई कुनै पनि वस्तु खरिद गर्दा अधिकतम् खुद्रा बिक्री मूल्यसहितको लेबल भएको वा स्पष्ट मूल्य सूची राखिएको वस्तु मात्र खरिद गर्न आग्रह गरेको छ । उपभोक्ताले कुनै गुनासो वा अनियमितता देखेमा विभागको टोल–फ्रि नम्बर ११३७ मा सम्पर्क गर्न सकिने जानकारी विभागले दिएको छ ।






