महासमिति सदस्य शेर्पाको महामन्त्री थापालाई चेतावनी -“केवल सभापति बनेर कांग्रेसको रुपान्तरण सम्भव छैन, नयाँ नेतृत्वको एजेन्डा के हो ”

काठमाडौँ – नेपाली कांग्रेसका महासमिति सदस्य तथा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पार्टी रुपान्तरणको नाममा केवल पद लोभ नगर्न चेतावनी दिएका छन् । हाल “विशेष महाधिवेशन”को नाममा केही समूह गगन थापालाई सभापति बनाउने अभियानमा लागेको प्रसंग उल्लेख गर्दै शेर्पाले भने, “गगन थापा महामन्त्री हुँदा देशले के पायो? अब सभापति भएपछी के फरक पर्ला? केवल नाम बदलिँदैमा प्रणाली र सोच बदलिँदैन।”  शेर्पाले पार्टीको हालको अस्तव्यस्त अवस्थाको जिम्मेवारी केवल सभापतिमा होइन, सम्पूर्ण पदाधिकारीमा बराबर रूपमा पर्ने बताए । उनका अनुसार नेपाली कांग्रेसको भविष्य केवल नेतृत्व परिवर्तनले सुनिश्चित हुँदैन, सोच र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक छ ।

उनले जनताको प्रश्नलाई प्रतिनिधित्व गर्दै भने, “जनताले सोधिरहेका छन्, हामीलाई के फाइदा ? नयाँ नेतृत्वको एजेन्डा के हो ? देशले के पाउने हो ?” शेर्पाले कांग्रेसले नेतृत्व चयन गर्दा जात, समुदाय, मधेसी, दलित र महिलाको समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, “यदि पार्टीले महिला, मधेसी, दलित वा जनजाति समुदायबाट सभापति चयन गर्छ भने — त्यो केवल औपचारिक नभई नयाँ सोच र नवप्रवर्तनको सुरुवात हुनेछ।” उनले थपे, “वास्तविक नेतृत्व पद होइन, जिम्मेवारीमा नापिन्छ। अहिले कांग्रेसले सभापति होइन, सोच, नीति र जनतामुखी एजेन्डा परिवर्तन गर्नुपर्छ।” गगन थापालाई लक्षित गर्दै उनले थपे, “जो नेतृत्व लिन खोज्छ, उसले पहिले देश र जनताको एजेन्डा स्पष्ट पारोस्। पदको लागि होइन, परिवर्तनको लागि अघि बढ। देशलाई बचाऔं, कांग्रेसलाई बचाऔं।” अहिले सम्म नेतृत्व नपाएको समुदायबाट सभापति बन्नुपर्ने नेता शेर्पाको धारणा छ । महामन्त्री थापाले जुन पदमा उम्मेदवारी दिन्छन् त्यहि पदमा आफुपनि एजेण्डा सहित उम्मेदवारी दिने शेर्पाले बताए ।

निमा ग्याल्जेन शेर्पा २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका थिए र हाल हेलम्बु गाउँपालिकाका अध्यक्षका रूपमा सक्रिय छन् । उनी स्थानीय स्तरमा जनप्रिय र प्रभावशाली नेताका रूपमा परिचित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्