काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले तोकिएकै मितिमा अर्थात् आगामी फागुन २१ गते निर्वाचन गराएरै छाड्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्। आइतबार नेपाल पत्रकार महासंघका पदाधिकारीसहित सञ्चारकर्मीहरूसँगको भेटमा मन्त्री खरेलले सरकार चुनावका तयारीमा पूर्ण रूपमा केन्द्रित रहेको बताए।
उनका अनुसार यो सरकार विशेष परिस्थितिमा बनेको हो र यसको म्यान्डेट पनि स्पष्ट छ। चुनाव फागुन २१ मा चुनाव गराउन सरकार पूर्ण रूपमा स्पष्ट र प्रतिबद्ध रहेको उनको भनाइ थियो । मन्त्री खरेलले हालको सरकारलाई ६ महिनाको म्यान्डेट दिइएको भन्दै यो अवधिभित्र सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा जनतालाई अनुभूति हुने कामहरू सुरु गर्ने लक्ष्य राखिएको बताए। धेरै काण्डहरू छन्, तीमध्ये कतिपयको छानबिनका लागि समय लाग्छ, तर छ महिनाभित्र जनताले महसुस गर्न सक्ने गरी काम अगाडि बढाइने उनले बताए । उनका अनुसार सरकारले सुशासन कायम गर्न, प्रशासनिक सुधार ल्याउन र भ्रष्टाचारका विरुद्ध ठोस कदम चाल्न थालिसकेको छ। यो सरकारको मुख्य लक्ष्य देखिने परिणाम हो, जनताले परिवर्तन महसुस गर्न सक्ने गरी काम गर्ने उनको भनाइ थियो । त्यस क्रममा उनले हालैको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूमाथि सरकारले कानुनी कारबाही अनिवार्य रूपमा गर्ने पनि चेतावनी दिए। उनले आन्दोलनको अधिकार सबैलाई रहे पनि त्यसको आडमा अराजकता फैलाउन नदिने स्पष्ट सन्देश दिए।
मन्त्री खरेलले अन्त्यमा सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै सरकारका सकारात्मक पहलहरू जनतासामु पुग्ने अपेक्षा व्यक्त गरे।






