गाजामा बन्धक बनेका नेपाली विपीन जोशी जीवित रहेको आशंका, भोलिसम्ममा सबै रिहा हुने

काठमाडौं । हमास लडाकु समूहको कब्जामा रहेका बन्धकमध्ये नेपालका विपीन जोशी जीवित रहेको पुष्टि भएको छ। अमेरिकी समाचार संस्था वासिङ्टन पोस्टले शनिबार सार्वजनिक गरेको नयाँ सूचीमा जोशीको नाम पनि समेटिएको हो।

यसअघि सीएनएनले सार्वजनिक गरेको २० जनाको सूचीमा जोशीको नाम नपरेपछि उनको अवस्था अनिश्चित रहेको भनिएको थियो। तर, वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित २२ जनाको नयाँ सूचीमा नेपालका विपीन जोशी पनि परेका छन्।

हालसम्म गाजामा रहेका २५१ जना बन्धकमध्ये ४८ जना अझै हमासको कब्जामा रहेको जनाइएको छ। तीमध्ये केहीको ज्यान गएको आशंका गरिएको छ। हालै हमास र इजरायलबीच भएको युद्धविराम सम्झौतासँगै बन्धकहरू क्रमशः रिहा हुँदै गइरहेका छन्। त्यसैक्रममा नेपालका जोशीको पनि रिहाइको सम्भावना बलियो बनेको हो।

कञ्चनपुरका जोशी सन् २०२३ को अक्टोबर ७ मा सुरु भएको युद्धभन्दा एक महिना अघि मात्रै इजरायल पुगेका थिए। उनी अहिले गाजामा जीवित रहेका एकमात्र गैर–इजरायली बन्धक भएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपतिले प्रस्ताव गरेको २० बुँदे युद्धविराम योजनालाई इजरायल र हमास दुवैले स्वीकृति दिएपछि गाजापट्टीमा स्थायी शान्तिको प्रयास सुरु भएको छ। सम्झौता पूर्णरूपमा कार्यान्वयन भएमा हमासको नियन्त्रणमा रहेका सबै बन्धकहरू रिहा हुने बताइएको छ।

विपीन जोशीको रिहाइका लागि लामो समयदेखि कूटनीतिक प्रयास हुँदै आएको छ। उनका परिवारका सदस्यहरूले समेत अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरेका थिए।

नेपाल सरकार र परराष्ट्र मन्त्रालयले पनि जोशी सकुशल रहेको र नजिकिँदो युद्धविरामसँगै उनको रिहाइको सम्भावना उच्च रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्