काठमाडौं – पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध पुनः तनावपूर्ण बनेको छ। शनिबार राति दुवै देशका सेनाबीच सीमावर्ती क्षेत्रमा भीषण गोलीबारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार अफगान तालिबानले पाकिस्तानका सीमा चौकीहरूमा आक्रमण गरेपछि भिडन्त सुरु भएको हो। पाकिस्तानी सेनाले त्यसको जवाफमा तीव्र प्रतिआक्रमण गरेको बताइएको छ।
गोलीबार खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड लगायतका कम्तीमा ६ स्थानमा एकसाथ भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। भिडन्त राति करिब १२ बजेतिर अन्त्य भएको अफगानी रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले बताएका छन्।
प्रवक्ता खोराजमीका अनुसार गत साता पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलमा हवाई आक्रमण गरेको थियो। “त्यसको जवाफस्वरूप हाम्रो सेनाले सीमा चौकीहरूमा आक्रमण गरेको हो,” उनले भने। खोराजमीले थपे, “यदि पाकिस्तानले पुनः अफगान आकाश क्षेत्र उल्लंघन गर्यो भने हाम्रो सेनाले बलियो जवाफ दिनेछ।”
तालिबानले तीन वटा पाकिस्तानी सीमा चौकी नियन्त्रणमा लिएको दाबी गरेको छ भने पाकिस्तानले पनि अफगान पक्षका कैयौं चौकी ध्वस्त पारिएको जनाएको छ। पाकिस्तानी अधिकारीहरूले सार्वजनिक गरेका भिडियोहरूमा रातभरि तोप र गोलीबारको आवाजका साथ आगोको झिल्को देखिएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। यो भिडन्त पाकिस्तानले काबुलमा पाकिस्तानी तालिबान (टीटीपी) समूहका नेतामाथि लक्षित हवाई आक्रमण गरेपछि सुरु भएको हो। ती नेता सवारीसाधनमा यात्रा गरिरहेका बेला आक्रमण भएको बताइए पनि उनी मारिएका वा बाँचेका बारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
इस्लामाबादले अफगान तालिबान प्रशासनमाथि पाकिस्तानी तालिबानका आतङ्ककारीहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। पाकिस्तानको दाबीअनुसार यी समूहहरू भारतको समर्थनमा पाकिस्तानभित्र आक्रमण गर्दै आएका छन्, तर भारतले यो आरोप अस्वीकार गरेको छ। शनिबार भएको गोली हानाहानमा मानवीय क्षति कति भएको हो भन्नेबारे अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। तालिबानी नेताहरु पछिल्लो समय भारत भ्रमणमा रहेका छन् ।






