काठमाडौं – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत सुपर सिक्स चरणका खेलहरू आजदेखि सुरु हुँदैछन्। नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेलमा आज चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग भिड्दैछ। खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा अपराह्न ४:१५ बजे सुरु हुनेछ।
समूह चरणमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। यूएईले कतार र मलेसियालाई पराजित गर्दै अपराजित रहँदा, नेपालले पनि कुवेत र जापानलाई हराउँदै शतप्रतिशत नतिजा हासिल गरेको थियो। नेपालले आजको खेलमा यूएईलाई पराजित गर्न सकेमा सुपर सिक्समा बलियो सुरुवात गर्नेछ। दुवै टोली पछिल्लो समय राम्रो लयमा छन् र दुवैले अघिल्ला खेलमा टेस्ट राष्ट्रहरूलाई समेत हराइसकेका छन्। त्यसैले आजको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म १० पटक आमनेसामने भिडन्त भइसकेको छ। तीमध्ये दुवैले ५–५ खेल जितेका छन्। पछिल्लो पटक भएको एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो। नेपालले सुपर सिक्स चरणमा यूएईपछि सोमबार कतार, बुधबार सामोआ, र शुक्रबार ओमानसँग खेल्ने कार्यक्रम रहेको छ।







