काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ। शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित मनमोहन सेन्टरमा भर्ना गरिएको थियो। अस्पतालमा उहाँको स्वास्थ्य परीक्षण जारी रहेको र अवस्था सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, “हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछौं।” शनिबार बिहान राष्ट्रपति पौडेल र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच राष्ट्रपति कार्यालयमा वार्ता तय गरिएको थियो। तर वार्ताअघि नै राष्ट्रपति अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको हो। राष्ट्रपति र जेनजी प्रतिनिधिबीचको अर्को वार्ता आगामी सोमबार हुने बताइएको छ।






