नेपाल विद्युत प्राधिकरणले २० अर्बको ऊर्जा ऋणपत्र जारी गर्ने तयारी

काठमाडौँ –  नेपाल विद्युत प्राधिकरण (नेपाल विद्युत् प्रा.) ले चार वटा ठूला जलविद्युत् आयोजनामा लगानी जुटाउनका लागि ऊर्जा ऋणपत्र (Energy Bond) जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ। अस्ति बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेपछि प्राधिकरणले प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार अब ऊर्जा ऋणपत्र जारी गर्ने प्रक्रिया तत्कालै सुरु हुनेछ। उहाँले भन्नुभयो, “बन्ड जारी गरेरै अपर अरुण जलविद्युत् आयोजना निर्माण भइरहेको छ र यही मोडेलबाट अरू आयोजना पनि अघि बढाइनेछ।” प्राधिकरणका अनुसार हाल ११ सय मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना र १०० मेगावाट क्षमताको तामाकोशी–५ आयोजनामा ऊर्जा ऋणपत्रमार्फत लगानी जुटाउने तयारी छ। त्यसैगरी, २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना र ४२ मेगावाटको मोदी जलविद्युत् आयोजनाका लागि पनि यही प्रक्रिया अपनाइनेछ।

कार्यकारी निर्देशक सिलवालले ऊर्जा ऋणपत्र जारी गर्दा अहिलेका लागि दातृ निकायहरूलाई समावेश नगरी बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव माग गरेर लगानी जुटाइने जानकारी दिनुभयो। उहाँका अनुसार, आवश्यकताका आधारमा ऊर्जा ऋणपत्र निष्कासन गर्ने कार्य अघि बढाइनेछ। नेपाल विद्युत् प्राधिकरणले हाल जलविद्युत् उत्पादन विस्तार, प्रसारण पूर्वाधार सुदृढीकरण र ऊर्जा आत्मनिर्भरता लक्ष्यका साथ ठूला आयोजनाहरूलाई प्राथमिकतामा राख्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्