काठमाडौँ – नेपाली कांग्रेसकी वरिष्ठ नेतृ राधादेवी कर्णको निधन भएको छ । कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहेकी कर्णको यही असोज २४ गते ८१ वर्षको उमेरमा निधन भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक शोक विज्ञप्ति जारी गर्दै कर्णको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
विसं २०४६ सालको जनआन्दोलनमा पिता महेन्द्रनारायण निधि जेलमा रहेका र भाइ विमलेन्द्र निधि भूमिगत रहँदादेखि नै उनी सक्रिय रूपमा आन्दोलनमा सहभागी रहेकी थिइन् । पार्टीले उनको निधनलाई कांग्रेसको एक निडर, अनुभवी र अग्रज नेतृको अपूरणीय क्षति भनेको छ ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि कर्णको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । देउवाले स्व. कर्णको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना व्यक्त गरेका छन् ।






