कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, मंसिरमा नियमित महाधिवेशनका एजेन्डा तय हुने

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका औपचारिक एजेन्डा टुंगो लगाउने तयारी गरेको छ ।

बिहीबार र शुक्रबार बसेका बैठकमा तीन प्रमुख एजेन्डा उठेका छन् । सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्र बैठक बसेको थियो भने शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई पनि बोलाइएको थियो ।

बैठकमा सहभागी नेताहरूले पार्टीको आसन्न महाधिवेशन, सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन, र भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका कारण र पृष्ठभूमिबारे केन्द्रीय समितिमा छलफलका लागि एजेन्डा बनाउने धारणा राखेका छन् ।

उपाध्यायका अनुसार वर्तमान शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मंसिरमा सकिँदै छ । त्यसैका कारण मंसिरमै नियमित महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी बैठकमा व्यापक रूपमा उठेको छ । त्यस्तै, सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन पनि केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा बन्नेछ । साथै, जेनजी आन्दोलनको जड, त्यसमा सरकारको भूमिका र पार्टीको आधिकारिक धारणा तय गर्ने विषय पनि बैठकको छलफलमा रहने लगभग निश्चित भएको छ ।

धारणा राख्ने अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको म्याद थप्न नहुने र पार्टीले संविधानअनुसार नियमित महाधिवेशनमै जाने सुझाव दिएका छन् । कांग्रेसभित्र अहिले नियमित वा विशेष महाधिवेशनबारे बहस तीव्र बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्