काठमाडौँ – इजरायलसँग युद्धविराम सहमति भएपछि हमासले मुक्त गर्ने २० जना युद्धवन्दीको नाम सार्वजनिक गरेको छ । तर सो सूचीमा नेपालका कञ्चनपुरका विपिन जोशीको नाम समावेश छैन। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए अनुसार सोमबारभित्र छाडिने भनिएका २० जना सबै इजरायली नागरिक हुन्। अहिलेसम्म विपिनको जीवन र अवस्था सम्बन्धमा कुनै ठोस जानकारी प्राप्त भएको छैन । अमेरिकाको पहलमा इजरायल र हमासले दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमति गरेका थिए। पहिलो चरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो।
विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए र अक्टुबर ७ मा किबुत्ज क्षेत्रमा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए। विपिनलाई हमास लडाकुहरूले आफ्नो कब्जामा लिएर गए। सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए। तर त्यसपछिको उनको अवस्था अज्ञात छ। बुधबार बेलुका सार्वजनिक गरिएको ३३ सेकेण्डको भिडियो पनि पुरानो भएको इजरायलका लागि नेपाली राजदूत पण्डितले बताएका छन्। परराष्ट्र मन्त्रालयका कर्मचारीहरु पनि विपिनको अवस्था पत्ता लगाउने प्रयासमा रहेका छन् ।






