प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अगाडि बढ्ने ओलीको संकेत

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका छन् र यसको पुनर्स्थापनाका लागि अगाडि बढ्ने संकेत दिएका छन्। भक्तपुरमा एमालेले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रको पुनर्बहालीका लागि संसद् पुनर्स्थापना अनिवार्य भएको बताए। उनले भने,
“समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ। कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौंला। संसद् विघटन असंवैधानिक, गलत, गैरकानूनी र अलोकतान्त्रिक छ। यो देशहितका विरुद्धमा छ, पर्खनुपर्‍यो फागुन २१ गते ? पर्खनु परेको छैन।”

ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउन पनि तयार हुने विश्वास व्यक्त गरे। उनले भने, “हामी अगाडि बढ्ने बेला भएको छ। नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर बढ्नेछ।” कार्यक्रममा सुशीला कार्कीले प्रधानमन्त्री बन्न अडान लिँदा संसद् विघटन भएको प्रसङ्ग पनि उल्लेख गरियो। ओलीले भने, “असंवैधानिक ढंगले संसद् विघटन गरिएको छ। संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त गर्‍यो? कहाँबाट प्राप्त गर्यो?”

उनले संसद् र संविधान जोगाएर निकास खोज्ने सबै पक्षको सहमति हुँदाहुँदै विघटन गरिएको पनि बताए। “मसँग कुरा हुँदा संविधान कायम राख्ने, संसद् कायम राख्ने र संसद् भित्रबाट निकास खोज्ने सबैको सहमति थियो,” ओलीले भने। ओलीले राजनीतिक दलहरूलाई पन्छाएर वार्ता गर्ने, सरकार बनाउने र संसद् भंग गर्ने काम गरिएको पनि बताए। “वार्ता सरकारले होइन, सरकारले राजीनामा गर्नुपर्ने? वार्ता अर्कैले गर्नुपर्ने? दुनियाँमा कहाँ हुन्छ? राजनीतिक दलहरू वार्तामा नबस्ने?” प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा कांग्रेसको पनि साथ रहने उनले स्पष्ट पार्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्