सिराहा । सिराहामा बसबाट खसेर सहचालकको मृत्यु भएको छ। बिहीबार बिहान धनगढीमाई नगरपालिका–९ जिरोमाइल नजिकै पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको बसमा यात्रा गर्दै गरेको सहचालक पवनकुमार यादव (२१, लहान नगरपालिका–१ निवासी) बाटोबाट खसेर गम्भीर घाइते भएका थिए।
घाइते यादवलाई तत्कालै नजिकैको प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो, जहाँ बिहान ११ः५५ बजे चिकित्सकले उनलाई मृत घोषित गरे। बसको पछाडिको चक्काले उनलाई किच्दा उनी गम्भीर घाइते भएका थिए। बस चालक लक्ष्मी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी हाल अस्थायी प्रहरी चौकी कसहा, सिराहामा रहेका छन्। प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीले घटनास्थल जाँच गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय धनगढीबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्छ। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक शिव कटेलको कमान्डमा अपराध अनुसन्धान टोली परिचालन गरिएको छ।







