काठमाडौं – माइतीघर–नयाँ बानेश्वर क्षेत्र अहिले अत्यधिक सुरक्षा व्यवस्थामा राखिएको छ । बिहानैदेखि सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको छ ।
हालै जेन–जी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । सो घटनापछि राजनीतिक तथा सामाजिक वृतमा चासो बढेको छ ।
उता, नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ । प्रहरी स्रोतका अनुसार जेन–जी समूहको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइएको छ भने बालेन र गुरुङविरुद्धको जाहेरी पनि आयोगमा पठाउने तयारी भइरहेको छ ।
एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेक्रम बढेसँगै माइतीघर क्षेत्रमा टाँगिएका ब्यानर हटाउने र नयाँ ब्यानर राख्ने विवादले थप तनाव सिर्जना गरेको थियो । यस्ता गतिविधिका कारण सो क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीको भनाइ छ । सडकमा ट्राफिक नियन्त्रण कडा पारिएको छ भने संवेदनशील स्थानहरूमा प्रहरीको गस्ती बढाइएको छ । अधिकारीहरूले शान्ति–सुरक्षा कायम राख्न सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरेका छन् ।







