आइसिसी मेन्स टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ – आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार सम्पन्न खेलमा नेपालले कुवेतमाथि ५८ रनको सानदार जित दर्ता गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १४१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। जवाफमा कुवेतको टोली १८.१ ओभरमै ८३ रनमा अलआउट भयो।

कुवेतका लागि ओपनर क्लिन्टो अन्तोले २६ रन, यसिन पटेलले १९ रन र मीत भाश्वरले ११ रन जोड्न सके भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। नेपालका तर्फबाट ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले समान २–२ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे। यस्तै सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान १–१ विकेट जोडे।

भुर्तेलको अर्धशतक, अन्तिम ओभरमा धुवाँधार ब्याटिङ

नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पाँचौं बलमा आउट हुनुअघि उनले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन जोडे। नेपालले सुस्त सुरुवात गरेको थियो। अर्का ओपनर आसिफ शेख २ रनमा आउट भए भने कुशल मल्ल (४ रन) र कप्तान रोहित पौडेल (१६ रन) पनि लामो टिक्न सकेनन्।

१२ ओभरसम्म ४ विकेट गुमाएर ६३ रनमा सीमित रहेको नेपालले अन्तिम चरणमा आक्रामक ब्याटिङ गर्‍यो। दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए पनि १९औँ ओभरमा कुशल भुर्तेल र गुल्सन झाले शानदार प्रदर्शन गरे।

नवीनराज राजेन्द्रनको ओभरमा भुर्तेलले दुई चौका र झाले तीन छक्का प्रहार गर्दै सो ओभरमै २७ रन जोडे। गुल्सनले ६ बलमा ३ छक्कासहित २० रन बनाएका थिए। बलिङतर्फ कुवेतका नवीनराजले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिँदा अनुदिप चेन्थामाराले अन्तिम ओभरमा २ विकेट हात पारे।

सुपर–६ को दिशामा नेपाल

नेपाल समूह २ मा रहेको छ, जसमा कुवेत र जापान छन्। शुक्रबार नेपालले आफ्नो दोस्रो खेल जापानसँग खेल्नेछ।

समूहको शीर्ष दुई टोली सुपर–६ मा पुग्नेछ, जहाँ प्रत्येक समूहका शीर्ष दुई टोली (मोट ६) बीच प्रतिस्पर्धा हुनेछ। सुपर–६ मा आफ्नै समूहको टोलीसँग पुनः खेल नहुने भएकाले समूह चरणको जित पनि सुपर–६ चरणका लागि अत्यन्त महत्वपूर्ण हुनेछ।  सुपर–६ को अन्त्यमा शीर्ष तीन टोलीले आइसिसी टी–२० विश्वकप २०२६  का लागि छनोट पाउनेछन्। नेपाल यसअघि दुई पटक (२०१४ र २०२४) विश्वकपमा पुगेको थियो। यस पटक सुपर–६ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउन चाहन्छ।

समूहहरू

  • समूह १: युएई, मलेसिया, कतार
  • समूह २: नेपाल, कुवेत, जापान
  • समूह ३: ओमान, पिएनजी, सामोआ

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्