काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा आफ्नै घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी भए पनि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको आफ्नो मानवीय कर्म रोकिएको छैन। उनले विपद्पीडितप्रति संवेदनशीलता देखाउँदै मकवानपुरको बकैया गाउँपालिकाका आगलागी पीडितलाई व्यक्तिगत सहयोग गरेका छन्।
गत भदौ २० गते बकैया गाउँपालिका–५, गरगरेमा भएको आगलागीबाट विस्थापित परिवारको घर पुनर्निर्माणका लागि मुख्यमन्त्री बानियाँले आफ्नै तर्फबाट १ लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन्। गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले मुख्यमन्त्री बानियाँको हेटौँडास्थित घर र उनका केही व्यवसायिक प्रतिष्ठानमा आगजनी गरेका थिए। यस्ता घटनापछि पनि उनले समाजसेवा र सहयोगको अभियानलाई निरन्तरता दिएका छन्।
मुख्यमन्त्री बानियाँले पदमा रहँदा मात्र नभई व्यक्तिगत रूपमा पनि असहाय, विपन्न र विपद्पीडित परिवारको घर निर्माणमा हातेमालो गर्दै आएका छन्। यसअघि पनि उनले विभिन्न सामाजिक र मानवीय कार्यमा सहयोग गर्दै सहानुभूति र सहयोगभावको उदाहरण प्रस्तुत गरिसकेका छन्।






