दार्चुला – लेकम गाउँपालिका–४ का वडा अध्यक्ष महेन्द्र जोशीले नेपालको हालको राजनीतिक र प्राकृतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सबै नागरिकले आत्मचिन्तन र जिम्मेवारी बोध गर्नुपर्ने बताएका छन्। उनले हाल देशमा राजनीतिक अस्थिरता र प्राकृतिक विपत्तिहरूले गम्भीर अवस्था सिर्जना गरेको बताएका छन्।
जोशीले हालै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले यो घटनाको निष्पक्ष अनुसन्धान गर्न अन्तरिम सरकारले अग्रसर हुनुपर्ने बताउँदै, २०४६ सालदेखि २०८२ सालसम्म सरकार सञ्चालन गरेका सबै राजनीतिक दलहरूले यस विषयमा आत्मचिन्तन गर्न आवश्यक रहेको टिप्पणी गरेका छन्।
उनका अनुसार, “भ्रष्टाचारको विरुद्धमा जेनजी ले उठाएको मुद्दा वैधानिक र नैतिक दृष्टिले गम्भीर छ, यसलाई सुधारको अवसरका रूपमा लिनुपर्छ।” उनले आफू सन् २०५६ साल कात्तिक १६ गते नेपाली विद्यार्थी सङ्घ (ने.वि.सँघ.) को सदस्य बनेको र त्यसयता सक्रिय राजनीतिक यात्रा जारी राखेको उल्लेख गर्दै भनेका छन्, “खरकडाको पार्टी सभापति, वडा अध्यक्ष तथा हाल नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्यका रूपमा काम गर्दै आएको छु, त्यसैले मेरो सम्पत्ति समेत छानबिन गर्न सबै शुभचिन्तकहरूसँग हार्दिक आग्रह गर्दछु।”
राजनीतिक उथलपुथलपछि उनले प्राकृतिक र धार्मिक पक्षमा पनि ध्यानाकर्षण गराएका छन्। उनका अनुसार, “नेपाल देवभूमि हो भन्ने कुरा इतिहासले स्पष्ट गर्छ। तर पछिल्ला वर्षहरूमा धार्मिक स्थलहरूमा परम्परागत संस्कारभन्दा भिन्न अनुष्ठानहरू भइरहेका छन्, जसले धार्मिक मूल्य र आस्थामाथि प्रश्न उठाएको छ।” उनले यस्ता अनुष्ठानहरूमा प्रतिबन्ध लगाई नेपालको मौलिक धर्म, संस्कृति र परम्परा अनुसार मात्र धार्मिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन्।
जोशीले अन्त्यमा देशका सबै नागरिकहरूलाई संयमित रहँदै गल्ती स्वीकार्ने आत्मसाहस राखी आगामी नेपाल निर्माणतर्फ एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।






