काठमाडौं – जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग बढिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरुसँग बालुवाटारमा मध्यरातसम्म छलफल गरेकी छन्।
गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँगको छलफल सोमबार बेलुकादेखि मंगलबार बिहान २ बजेसम्म चलेको स्रोतले जनाएको छ। जेनजी युवाले ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले मानेको थिएन। गृहमन्त्री जाहेरी दर्ता गर्ने पक्षमा भए पनि प्रहरी अधिकारीहरूले राजनीतिक संवेदनशीलता औंल्याउँदै सावधानी अपनाउन सुझाव दिएका थिए।
छलफलमा प्रहरी महानिरीक्षक खापुङले केन्द्रीय सुरक्षा समितिको लिखित निर्देशन भए उजुरी दर्ता गर्न तयार रहेको बताएका थिए। प्रधानमन्त्री कार्कीले दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँदै विस्तृत विश्लेषणका लागि अधिकारीहरूलाई निर्देशन दिएकी छिन्। यसबीच, सरकारद्वारा गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र सीडीओ छवि रिजाललाई उपत्यका बाहिर जान रोक लगाइसकेको छ।






