अल्बानिया — अल्बानियाको राजधानी तिरानास्थित पुनरावेदन अदालतमा सोमबार भएको गोलीकाण्डमा एक न्यायाधीशको मृत्यु भएको छ। घटनामा अन्य दुई व्यक्ति घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजा सोमबार एउटा मुद्दाको सुनुवाइ गरिरहेका बेला अदालतमा उपस्थित एक व्यक्तिले अचानक गोली चलाएका थिए। गोली लागेर गम्भीर घाइते भएका न्यायाधीशलाई तत्काल अस्पताल लगिएको भए पनि बाटोमै उनको मृत्यु भएको थियो। गोली चलाउने व्यक्ति अदालतमै पक्राउ परेका छन्। प्रहरीका अनुसार उक्त गोलीकाण्ड सम्पत्तिसम्बन्धी विवादको मुद्दासँग जोडिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार अभियुक्तले आफू मुद्दा हार्ने निश्चित भएपछि न्यायाधीशमाथि आक्रमण गरेका थिए।
गोलीकाण्डमा मुद्दाको अर्को पक्षका एक बाबुछोरा पनि घाइते भएका छन्। उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री एडी रामाले घटनालाई “दुःखद” भन्दै बन्दुकसम्बन्धी अपराधका लागि कडा सजाय हुने चेतावनी दिएका छन्। उनले अपराधीविरुद्ध सबैभन्दा कडा कानुनी कारबाहीको माग गर्दै न्याय प्रणालीमाथि हमला सहन नहुने बताए।
राष्ट्रपति बजराम बेगजले पनि विज्ञप्ति जारी गर्दै घटनालाई “अल्बानियाको सम्पूर्ण न्याय प्रणालीमाथिको भयानक आक्रमण” को रूपमा वर्णन गरेका छन्। अल्बानियाली कानुन अनुसार अवैध रूपमा बन्दुक राख्नेलाई तीन वर्षसम्म कैद सजाय हुने प्रावधान छ। (एफपी)






