नयाँ सकारको पुरानै शैली : गुप्तचरमा सिनियर जोशीलाई पन्छाएर प्रमुखमा कनिष्ठ कार्की

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभाग (NID) का नयाँ प्रमुखमा टेकेन्द्र कार्की नियुक्त भएका छन्। वरियतामा माथि रहेका निमित्त प्रमुख ओम जोशीलाई पन्छाएर प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले कार्कीलाई विभागको प्रमुखमा नियुक्त गरेको हो।

विभागीय स्रोतका अनुसार, २८ भदौदेखि प्रमुखको पद रिक्त भएपछि ओम जोशीले निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। तर, नयाँ नियुक्तिमा उनी फेरि पनि प्रमुख बन्नबाट वञ्चित भएका छन्।  जोशी प्रमुखको बलियो दाबेदार भएर पनि पछि परेका यो पहिलो पटक भने होइन, हुतराज थापाको कार्यकालमा समेत जोशी प्रतिस्पर्धी सूचीमा अग्रस्थानमा रहेका थिए, तर अन्ततः थापाले बाजी मारेका थिए।

सुदूरपश्चिम घर भएका ओम जोशी विभागभित्र सादा जीवनशैली, इमानदारी र संगठनप्रतिको प्रतिबद्धताका कारण चिनिन्छन्। विभागका सहकर्मीहरूका अनुसार, जोशीले लामो समयदेखि अनुसन्धान क्षेत्रमा दक्ष र संयमी अधिकृतको रूपमा काम गर्दै आएका छन्।

यसअघि पनि प्रधानमन्त्री सुशीला कार्कीले निर्णय गर्दा ‘वरियताभन्दा योग्यता’ लाई प्राथमिकता दिएको टिप्पणी हुने गरेको थियो। नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति प्रकरणमा समेत उनले नवराज सिलवालको पक्ष लिँदा आफूलाई महाभियोगको सामना गर्नुपरेको उनको तर्क थियो । गुप्तचर विभागमा समेत उनले वरियतालाई बेवास्ता गरेर टेकेन्द्र कार्कीलाई प्रमुख बनाएको निर्णय त्यसैको निरन्तरता हो भन्ने राजनीतिक वृत्तमा टिप्पणी भइरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्