काठमाडौं – देशभर वर्षा क्रमशः घट्दै गए पनि केही जिल्लामा अझै पनि बाढीको जोखिम कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज इलाम, झापा, हुम्ला, दार्चुला र आसपासका जिल्लाहरू हुँदै बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
त्यसैगरी संखुवासभा, सुनसरी, मुगु, डोटी, बझाङ, कञ्चनपुर र आसपासका जिल्ला हुँदै बहने साना नदीहरूमा पनि पानीको बहाव बढ्न सक्ने चेतावनी जारी गरिएको छ। महाशाखाले बाढी मापनका पछिल्ला तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ — आज बिहान मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तीसँग सम्बन्धित सहायक नदीहरू साथै कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। तर दिउँसोसम्म केही सामान्य घटबढ हुन सक्ने बताइएको छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, साथै अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै ठाउँहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।







